अखिल क्रान्तिकारी विवाद : पवन र पञ्चासँग प्रचण्डको छलफल
१८ साउन काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका दुवै असन्तुष्ट पक्षसँग छलफल गरेका छन्। मंगलबार साँझ प्रचण्डको नीजि निवास खुमलटारमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, समानान्तर गतिविधिको नेतृत्व गर्दै आएका पवन कार्कीसँग छलफल गरेका हुन्। छलफलमा फ्याक्सन इन्चार्ज हितमान शाक्य पनि सहभागी थिए।
अखिल क्रान्तिकारीमा लामो समयदेखि जारी आन्तरिक संघर्ष समाधान गर्ने प्रयासस्वरुप प्रचण्डले मंगलबार साँझ दुवै पक्षसँग छलफल गरेका हुन्। सुझाव समितिले पेश गरेको सुझावहरु र अहिलेसम्मको परिस्थितिबारे स्थायी कमिटीमा छलफल गरेर निर्णय लिने प्रचण्डले भेटका क्रममा भनेका थिए। ‘हामीले सुझाव समितिलाई पेश गरेको सुझाव पनि अध्यक्षलाई लिखित रुपमा बुझायौँ’, कार्कीले भने, ‘आयोजक समिति बनाउने, भेला समितिमा जाने, निश्चित उमेर हद कायम गर्ने बाहेकको विकल्पमा जान हुँदैन भनेर हामीले त्यहाँ पनि भनेका छौं’
कमिटी भद्रगोल बनाएको, पार्टीको निर्देशन र निर्णय कार्यान्वयन नगरेको लगायतका बुँदामा प्रचण्डले भेटमा नेताहरुसमक्ष असहमति राखेका थिए। ‘यो विवाद लामो समयसम्म राख्न हुँदैन,’ प्रचण्डले बैठकमा राखेको भनाई उदृत गर्दै कार्कीले भने, ‘उपयुक्त विधि के हुनसक्छ भन्ने कुरामा दुवै पक्षसँग राय लिन खोज्नुभएको रहेछ, हामीले हाम्रोतर्फबाट कुरा राखेका छौं।’
यो विवादलाई टालटुल गरेर मात्र नहुने भन्दै सम्मेलनमा जानुपर्ने तर्क राखेको कार्कीले बताए। अब बस्ने स्थायी कमिटी बैठकबाट उपयुक्त निर्णय लिने प्रचण्डले बताएको उनले जानकारी दिए।