गठबन्धन दलहरूको तालमेल संविधान विपरित – नेता रावल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २० २०७९
1.9K
SHARES

२० साउन  काठमाडौं । नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त भएको बताए । उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताए ।

उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताए । नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहिन दिशातर्फ धकेल्ने बताए । आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाइ छ । उनले नेकपा (एमाले) को समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरूलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे ।