ओलीले देउवासामु राखे यी चार विषय


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ८ २०७९
2.8K
SHARES

८ भदौ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । कांग्रेसका तर्फबाट सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

भेटमा ओलीले मुख्य चार विषय राखेका थिए । गठबन्धन, नागरिकता विधेयक, ‘टीआरसी’ र महँगीका विषय राखिएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए ।

ओलीले निर्वाचन समयमै सम्पन्न हुनुपर्नेमा समेत जोड दिएका थिए । “यो निर्वाचन समयमा नै सम्पन्न हुनुपर्छ । भयरहित, स्वतन्त्र रूपमा सम्पन्न हुनुपर्छ,” नेम्वाङले ओलीको भनाइ उद्धृत गर्दै बाह्रखरीसित भने ।

ओलीले सत्ता गठबन्धनले आफूहरूप्रति निषेधको राजनीति गरिरहेको समेत बताएका थिए । प्रतिस्पर्धाको स्वच्छ मूल्य–मान्यतामा उभिएर अघि बढ्न उनले देउवालाई सुझाव दिए ।

“गठबन्धनले प्रतिपक्षसँग लोकतन्त्रको मूल्य र मान्यतामा आधारित सम्बन्ध कायम गर्नुपर्छ । लोकतन्त्र भनेको निषेधको राजनीति होइन । तपाईंहरूले निषेधको राजनीति गर्दै हुनहुन्छ । गठबन्धन गर्नस्, त्यसमा हाम्रो केही छैन,” नेम्वाङका अनुसार ओलीले भेटमा भनेका थिए, “तर, गठबन्धन मूल्य र मान्यतमा आधारित हुनुपर्‍यो । अहिले पाँच बाट सात हुनुहुन्छ क्यारे ! हाम्रो शुभकामना छ । तर, निषेधमा उभिएर होइन, प्रतिस्पर्धाको स्वच्छ मूल्य–मान्यतामा उभिएर अघि बढनु्र्छ ।”