जंगलको बाघ हुँ, मै चुनाव लड्छु – नेता आले
८ भदौ काठमाडौं । सरकारले आम चुनावको मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे चर्चा हुन थालेको छ । सत्तारुढ दलहरू संयुक्त गठबन्धनबाट चुनाव लड्दैछन् भने प्रतिपक्षी नेकपा (एमाले) एक्लै मैदानमा हुने देखिएको छ । सत्ता गठबन्धनमा कुन दलले कति संख्यामा सिट पाउने टुंगो लागिसकेको छैन । तर, दलहरूभित्र सिट बाँडफाँटसँगै उमेदवारको छिनोफानो गर्न सकस हुने देखिएको छ ।
गठबन्धनका कारण सिट खोसिने भएपछि दलका सम्भावित उमेदवार रुष्ट बन्दै गएका छन् । उनीहरूले आफूले टिकट नपाए गठबन्धन नै संकटमा पर्ने संकेतसमेत गर्दै आएका छन् । सत्तारुढ दलहरूलाई भागबण्डा मिलाउन सुदूरपश्चिम प्रदेशमा डोटी सबैभन्दा पेचिलो देखिएको छ । एउटा मात्रै प्रतिनिधिसभा सिट भएको डोटीमा गठबन्धनभित्रै दुई बलिया उमेदवार भएपछि सकस हुने देखिएको हो ।
डोटीबाट संघीय संसद् प्रवेशको तयारीमा रहेका नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर र नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आले मिल्ने ‘मुड’मा देखिँदैनन् । दुवैजना पूर्वमन्त्री हुन् । एमालेका पूर्वनेता आले हाल समाजवादीमा छन् । उनी आफू डोटीबाट चुनाव लड्ने तयारीमा रहेको बताउँछन् ।
“जंगलमा एकमात्रै बाघ हुन्छ । मलाई भोट हाल्न कांग्रेसका कार्यकर्ताहरू आतुर छन् । गठबन्धनबाट भए पनि, नभए पनि म संघमा चुनाव लड्छु,” आले भन्छन्, “यसमा स्पष्ट भए हुन्छ । म कुनै पनि हालतमा पछाडि हट्नेवाला छैन ।” डोटीमा गठबन्धनमा सहमति नभए देशभर सहमति नहुनेसमेत आलेले दाबी गरे । संसदीय निर्वाचन स्थानीय तहजस्तो नहुने आलेको भनाइ छ ।
०७४ मा भएको निर्वाचनमा डोटीबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट लडेका आलेले एक हजार ६३२ मतान्तरले कांग्रेसका उमेदवार वीरबहादुर बलायरलाई पराजित गरेका थिए । आलेले ३२ हजार ५१० मत ल्याएर विजयी हुँदा बलायरले ३० हजार ८७८ मत प्राप्त गरेका थिए ।