‘प्रकाश’ फिल्म माओवादीप्रति पूर्वाग्रही रहेछ – शिक्षामन्त्री पौडेल
१८ भदौ काठमाडौं । आज शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले चलचित्र ‘प्रकाश’ राजनीतिक पूर्वाग्रहसहित निर्माण गरिएको आरोप लगाएका छन् । चलचित्रमा राखिएका कतिपय दृष्य र बिम्बहरू राजनीतिक पूर्वाग्रहसहित प्रयोग गरिएको उनको भनाइ छ ।
“चलचित्र जनयुद्ध लडेर आएको पार्टीप्रति लक्षित गरिएको मैले पाएँ । चलचित्रमा कम्युनिष्ट पार्टीको झण्डाको प्रयोग गरिएको छ भने माओवादी जनयुद्धको पृष्ठभूमि र वेपत्ता परिवारको प्रसंग पनि जोडिएको छ,”।
शनिबार विश्वज्योति सिनेमा हलमा ‘प्रकाश’ हेरेपछि सञ्चारकर्मीहरुसँग उनले भने, “मैले चलचित्र हेर्दा शिक्षकसँग सम्बन्धितभन्दा पनि एउटा आस्थासँग सम्बन्धित देखेँ । राजनीतिसँग सम्बन्धित देखेँ । आफै पनि सहिदको छोरा, विकृति गर्नेलाई निर्वाचन जिताएको छ । शिक्षासँग भन्दा पनि राजनीतिसँग सम्बन्धित भएर फिल्म प्रकट भएको मलाई महसूस भयो ।”
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका पौडेलले चलचित्र एउटा आन्दोलनसँग जोडिएको भन्दै जुन स्थानको कथा देखाइएको त्यहीका जनताले कति यथार्थ हो फैसला गर्ने जनाए । “फिल्मको अन्त्यमा जे देखाइयो, त्यो हो कि होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो” चलचित्रको निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा मन्त्री पौडेललाई उदृत गर्दैै लेखिएको छ, “आज पनि त्यहाँका जनताको विश्वास त्यही जनयुद्ध लडेको पार्टीप्रति नै छ ।”
नेपालमा शिक्षाको स्तर चलचित्रमा प्रस्तुत भएकोभन्दा धेरै अघि बढेको भन्दै उनले सामुदायिक विद्यालयको अवस्था पनि सुधारिएको बताए । अहिले शिक्षामा धेरै सुधार भइसकेको भन्दै उनले ४० वर्ष पहिलेको जस्तोगरी देखाउन नहुने तर्क गरे । चलचित्रमा प्रस्तुत गरिएको समावेशी गरिबीको कुराप्रति भने एक्यबद्धता रहेको उनले बताए ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रलाई विकास सुबेदीले लेखेका हुन् । महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रणु योगी, राजन खतिवडा, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ ।