सरकार चुनावदेखि डराइरहेको छ , चुनाव हुन्छ भन्ने ढुक्क छैन – उपाध्यक्ष नेम्वाङ
१९ भदौ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धन निर्वाचनसँग डराइरहेको टिप्पणी गरेका छन् । गठबन्धन आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा जान डराइरहेको उनको भनाइ छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सत्तारूढ दलहरूका कारण मंसिर ४ गते नै सो निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको पटक–पटक दोहोर्याए । नेता नेम्वाङले निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने जिकिर गरे । त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरे ।
“सरकार चुनावदेखि डराइरहेको छ । चुनाव घोषणा गरेपछि सरकार साह्रै ठूलो त्रासमा छ । चुनाव हुन्छ भन्ने ढुक्क छैन । स्थानीय तहका चुनाव पनि आफ्नो पार्टीको दबाबमा मात्रै सरकारले गरेको हो,” उनले भने, “आफूलाई लोकतान्त्रिक हुँ भन्ने कांग्रेस नेतृत्वको सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न त्रसित छ ।”
उनले सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको आरोप लगाए । जनताले आफ्नो पार्टीको पक्षमा मतदान गर्ने विश्वास उनले व्यक्त गरे ।