रञ्जन कोइरालाको मुद्दाबारे चोलेन्द्रले दिए यस्तो बयान


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
2.1K
SHARES

१९ भदौ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित्त गरेको बताएका छन् । आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।

‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनतासमक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित्त भएको छ,’ महाअभियोग सिफारिस समितिमा आज तेस्रो दिनको बयानमा जबराले भने ।

श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराले ८ वर्षमा झारेका थिए । यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरेको उनको भनाइ छ ।

रञ्जन कोइरालालाई कम सजाय गरियो भन्नु शतप्रतिशत गलत भएको उनी बताउँछन् । कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको भन्दै उनले भने, ‘जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो ।’

पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरुलाई ख्याल गरेर २० वर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको उनको भनाइ छ ।

आज समिति सदस्यहरुले जबरासँग पाँच वटा प्रश्न सोधेका थिए । महाअभियोग सिफारिस समितिको अर्को बैठक आगामी २६ गते बस्ने छ ।