चुनावपछि सडकमा जान्छु – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
1.7K
SHARES

१९ भदौ काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् । निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् । ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु’ समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘सडकबाटमात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो मेसिनरी बदल्न जनताको बीचमा जानुको विकल्प छैन ।’

प्रचण्डले अहिलेको निर्वाचन प्रणाली कायमै  राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु उचित नहुने समेत बताए। ‘अहिलेको निर्वाचन प्रणालीलाई कामयै राख्ने, अनि बडो भ्रष्टाचारमुक्त, विचलन र विकृतिमुक्त समाजको कल्पना गर्नुभयो भने त्यो सम्भव छैन’ उनले भने, ‘यो निर्वाचन प्रणालीले दलाल, पूँजीपति, भ्रष्टहरुलाई नै अगाडि ल्याउँछ । पार्टी र नेतालाई पनि थाहा नपाइकन भ्रष्टीकरणतर्फ लैजान बाध्य पार्छ यो निर्वाचन मेसिनरीले।’