हाम्रो पार्टी वास्तविक कम्युनिस्ट विचार बोकेर हिँड्ने हो – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २० २०७९
2.5K
SHARES

२० भदौ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विभिन्न समुदायलाई हुने अत्याचारको विरुद्ध पार्टीले सशक्त रूपमा आवाज उठाउने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले राज्य प्रणालीमा देखिएका विकृतिविरुद्ध जुध्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि आफ्ना पार्टी अग्रपंक्तिमा उभिने बताए । उनले महिला हिंसा अन्त्य, गरिबीमा रहेका समुदाय, अल्पसंख्यक लगायतका विषयमा पार्टीको विशेष ध्यान जाने जिकिर गरे ।

अध्यक्ष नेपालले पार्टी संगठन मात्रै बनाएर नपुग्ने भन्दै जनतामा चेतना जगाएर आन्दोलित गर्न सक्नुपर्ने धारणा राखे ।वास्तविक कम्युनिस्ट विचार बोकेर हिँड्ने आफ्नो मात्रै पार्टी भएको उनको दाबी छ ।

त्यस्तै, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई रूपान्तरण गर्न सबै दृढ भएर लाग्नुपर्ने बताए । उनले अनुभव र क्षमताका आधारमा पार्टीमा आएका व्यक्तिहरूलाई सम्मानजनक स्थान दिइने धारणा राखे । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेता रणबहादुर रम्तेल एकीकृत समाजवादीमा प्रवेश गरे ।