अहिलेको राजनीतिक प्रणाली फेर्नुपर्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २१ २०७९
2.1K
SHARES

२१ भदौ धनगढी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुमतले प्रधानमन्त्री चुन्ने प्रक्रियाले राजनीतिक अस्थिरता र सोचेजस्तो परिवर्तन संभव नभएको बताएका छन्। पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार धनगढी पुगेका प्रचण्डले विद्यमान राजनीतिक प्रणाली फेर्नुपर्नेमा जोड दिएका हुन्।

‘यो शासन प्रणालीले अस्थिरता निम्त्यायो। प्रत्यक्ष कार्यकारी नहुँदा बहुमतले प्रधानमन्त्री छान्ने प्रणालीका कारण भ्रष्टाचार बढेर गयो। उनले भने, ‘हामीले सोचे अनुरुप यो प्रणाली अन्तर्गत विकाससम्भव छैन।’ अध्यक्ष प्रचण्डले निर्वाचन प्रणाली समेत फेर्नुपर्ने बताए। अहिलेको निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै उनले आम मानिसले चुनाव लडन नसक्ने अवस्था आएको बताए।

माओवादीले संविधान निर्माणकै बेला यी मुद्दाहरुलाई नोट अफ डिसेन्टको रुपमा राखेको समेत उनले बताए। शासकीय संरचनाका लागि माओवादीले मात्रै संघर्ष गर्न सक्ने र यो अधिकार माओवादीलाई मात्रै भएको उनको उनको भनाई थियो।

गठबन्धन दलहरुबीच सीटबाँडफाँडमा सहमति जुटन थालेको बताउँदै उनले अहिले प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने मुख्य दायित्व रहेकोमा जोड दिए। आगामी निर्वाचनमा देशका कतिपय क्षेत्रबाट उम्मेद्वार बन्न आग्रह गरिए पनि आफू चितवनको क्षेत्र नं ३ बाट नै उम्मेदवार बन्ने उनले जानकारी दिए।