अधुरो प्रतिवेदन बुझाउने तयारी, बाँकी कामको जिम्मा देउवा र प्रचण्डलाई
२३ भदौ काठमाडौं । सत्ता गठबन्धनका दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनाएको कार्यदलले आज आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने भएको छ । आज बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष नेताहरुलाई बुझाउने कार्यदलका एक जना सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘प्रतिवेदन तयार पारिसकेका छौं, बिहीबार नै शीर्ष नेताहरुलाई बुझाउँदै’ सञ्चारमन्त्रीसमेत रहेका कार्कीले भने ।
स्रोतका अनुसार प्रतिनिधि सभामा कुल १६५ सिटमध्ये बुधबारसम्म ८८ सिटमा मात्र समझदारी जुटेको छ । बाँकी सिटमा सहमति जुटाउने प्रयास आज बिहानको बैठकमा पनि हुने छ । यदि सहमति नजुटे बाँकी कामको जिम्मा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिने गरी कार्यदलले प्रतिवेदन बुझाउने तयारी भइरहेको स्रोतले बतायो ।