चोलेन्द्रको बयानमा श्रृङ्खलाबद्ध लाञ्छना र आरोप


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २७ २०७९
3.9K
SHARES

२७ भदौ काठमाडौं । आफूविरुद्धको महाअभियोग प्रस्तावमा बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निरन्तर रुपमा विभिन्न व्यक्तिहरुमाथि व्यक्तिगत लाञ्छना र आरोप लगाउने काम गरिरहेका छन् ।

१५ भदौदेखि आइतबारसम्म आइपुग्दा महाअभियोग सिफारिस समितिले चार पटक उनको बयान लिएको छ । यसक्रममा उनले पूर्वप्रधानमन्त्रीहरु, पूर्वअर्थमन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुको नामै लिएर टिप्पणी गरेका छन् । बयानका क्रममा उनले हरेक दिन फरक–फरक व्यक्तिको नाम लिएर आफूमाथि लागेको अभियोग पन्छाउन खोजिरहेका छन् ।

आइतबार मात्रै जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा भएको भनिएको भ्रष्टाचार सम्बन्धी आरोपमाथिको प्रश्नमा उनले पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम लिए ।

सर्वोच्च अदालतको भवन निर्माणमा भ्रष्टाचार भएको सम्बन्धमा सोधिएको प्रश्नमा जबराले सकारात्मक शब्दमा जवाफ दिए । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धमा अति मेहनत परेको छ । तत्कालीन अर्थमन्त्रीज्यू अहिले यहाँ नै हुनुहुन्छ । उहाँको सौहार्दपूर्ण सहयोगात्मक सहयोग नभएको भए अनि तत्कालीन प्रधानमन्त्रीज्यू सकारात्मक नहुनुभएको भए त्यहाँ एकदमै जटिल अवस्था थियो । अहिलेको अवस्थामा बन्ने नै थिएन, आउने नै थिएन ।’