अखिल (क्रान्तिकारी) धुजा- धुजा हुदै , तेस्रो समुह निर्माण


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २७ २०७९
5.5K
SHARES

२७ भदौ काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मा फेरि एउटा नया समुह जन्मिएको छ । एउटा समुहको नेतृत्व पंचा सिहले गरेकी छिन भने अर्कोको नेतृत्व पवन कार्कीले गरि राखेको समयमा फेरि एउटा नया समुह निर्माण भएको छ । उनीहरूले दुवै समुहलाई मिलाएर यूवा विद्यार्थीलाई आगामी चुनावमा लगाउनु पर्ने भन्दै आज चार उपाध्यहरूले एक विज्ञप्ति जारी गरेका छन ।

प्रेस विज्ञप्ति

हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्र हलबाट नेतृत्व चयनको विषयमा चल्दै आएको विवाद समाधान हुनुको सट्टा चरम उत्कर्षमा पुग्दै औपचारिक रूपमै दुई समूहमा विभाजित भएको घटना घटेको सर्वविदितै छ । संगठनको मुख्य नेतृत्व जिम्मेवार बन्न नसक्नू र विद्रोही साथीहरूले समानान्तर समिति नै निर्माण गर्दा स्थापना काल देखि राष्ट्रियताको पहरेदार, जनअधिकार प्राप्तिको अग्रणी र शैक्षिक प्रणालीको आमूल परिवर्तनको वाहक हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी) अस्थिरता तिर रुमलिरहेको छ । संगठनको अध्यक्ष कमरेड पञ्चा सिंह र समानान्तर गतिविधिमा संलग्न कमरेड पवन कार्की समूह जिम्मेवार बनी संगठन भित्रको विवाद समाधान गर्नुको साटो विभिन्न नाममा गुट गत गतिविधिमा अस्वस्थ प्रतिस्पर्धा गरिराख्नुले संगठनलाई थप अस्थिरता तिर धकेलिरहेको छ । त्याग समर्पण बलिदानको गौरबपूर्ण इतिहास बोकेको संगठनको रक्षाको निम्ति लाखौँ इमानदार नेता कार्यकर्ता आज पनि चिन्तित छन् ।
एजेन्डा विहीन बन्दै गएको संगठन र गन्तव्य विहीन बन्दै गएका नेताहरूमाथि खबरदारी गर्दै एजेन्डा, उद्देश्य र गन्तव्य सहितको अखिल (क्रान्तिकारी) निर्माणमा जिम्मेवार बनेर लाग्न हामी सबै नेताकार्यकर्ताहरुमा हार्दिक अपिल गर्दछौं । पञ्चा सिंहको स्वेच्छाचारिता र पवन कार्की समूहको समानान्तर गतिविधि बन्द गरि वार्ता मार्फत समाधान खोज्न अनुरोध गर्दछौं । आसन्न मङ्सिर ४ गते हुन् गइरहेको प्रदेश तथा सङ्घको निर्वाचनमा हाम्रो मातृ पार्टी नेकपा (माओवादी केन्द्र) लाई पहिलो पार्टी बनाउने दायित्व युवा विद्यार्थीहरूको काँधमा छ ।
संगठन भित्र भावनात्मक एकता कायम गर्न र एकतावद्ध अखिल (क्रान्तिकारी) निर्माणमा अगाडी बढ्नको निम्ति अध्यक्ष कमरेड प्रचण्डको निर्देशन , पार्टी स्थायी कमिटीको निर्णय र समस्या समाधान सुझाव समितिको सुझाव विपरीत गुट गत क्रियाकलापमा संलग्न कमरेड पञ्चा सिंह र समानान्तर गतिविधिमा संलग्न कमरेड पवन कार्की समूहलाई तत्काल वार्तामा ल्याएर समस्या समाधान गर्न र कोमामा पुगेको अखिल (क्रान्तिकारी) भित्रको विवाद तत्काल समाधान गरि आम नेताकार्यकर्ताहरुलाई निर्वाचन तर्फ केन्द्रित गराउनको निम्ति पार्टीको समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।