यस्तो निर्णय गर्दै माओवादीको पदाधिकारी बैठक सकियो


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २ २०७९
2.1K
SHARES

२ असोज काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले सोमबार पदाधिकारी बैठक बसेर समानुपातिक सूचीलाई अन्तिम रूप दिने भएको छ। पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आइतबार बिहान बसेको पदाधिकारीको बैठकमा निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूचीबारे छलफल भएको छ।

केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि आजको बैठकमा छलफल भएको तर टुंगो भने नलागेको बुझिएको छ। सोमबार बिहान ९ बस्ने बैठक बसेर समानुपातिक लिष्ट फाइनल गरेर निर्वाचन आयोग बुझाउने तयारी रहेको कार्यालय सचिव गणेश शाहले जानकारी दिए।

उनले आइतबार बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको बताए। ‘सात भौगोलिक र तीन गैरभौगोलिकबाट समानुपातिकमा धेरै जनाको नाम केन्द्रमा आयो। कसलाई राख्ने कसलाई फाल्ने गाह्रो भयो,’ शाह भने, ‘त्यसैले सबै प्रदेशलाई पुनः एक पटक सर्ट लिष्ट गरेर नाम पठाउन निर्देशन दिएका छौ। प्रदेशले सर्ट लिष्ट गरेर पठाएमा भोलि बस्ने पदाधिकारी बैठकले निर्णय गर्छ।’

प्रदेशबाट तेब्बरको संख्यामा समानुपातिक नाम सिफारिस भएर आएपछि पदाधिकारी बैठकले नाम छनोट गर्न सकस परेको बताइएको छ। आज बसेको पदाधिकारी बैठकले अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई दोहोर्‍याउने विषयमा छलफल भएको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए। उनले भने, ‘गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा पराजित भएका र राजनीतिक नियुक्ति लिइसकेका व्यक्ति समानुपातिकमा नराख्ने भन्ने छ। अरू यसअघि बनाएको मापदण्डलाई कडाइका साथ पालना गर्ने भन्ने छ।’