चुनाव बहिष्कार गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ६ २०७९
2K
SHARES

६ असोज काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ। पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो।

सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए। ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौं। सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँछ। कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँछ,’ क्षेत्रीले भने, ‘अब हामी चुनावमा भाग लिन्नौ। बहिष्कार गर्ने निर्णयमा पुग्यौं।’

गत वैशाख ३० गतेको स्थानीय चुनावमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो। उक्त चुनावमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको सो पार्टीले जानकारी दिएको छ। सरकारले गत साउनमा विप्लवसहित शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गरेपछि असोज १ गतेदेखि गर्ने भनिएको ९ औँ महाधिवेशन समेत प्रभावित भएको छ।

विप्लव नेतृत्वको नेकपाले असोज १ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। सरकारले पक्राउ पुर्जी जारी गरेपछि स्थगित भएको विप्लव नेतृत्वको नेकपाको महाधिवेशन कहिले हुने निश्चित भइसकेको छैन।