दसैँको शुभकामना दिँदै प्रतिगमन विरोधी शक्तिलाई मत दिन प्रचण्डको अपिल


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १६ २०७९
2.5K
SHARES

१६ असोज काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुनगइरहेकाे निर्वाचनमा प्रतिगमन विराेधी शक्तिलाई मत दिन अपिल गरेका छन् ।

दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्हाेसार लगायत चाडपर्वहरूकाे अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले प्रतिगमन विराेधी शक्तिलाई मत दिइ स‌ंविधान, गणतन्त्र, संघीयताकाे रक्षा र सुदृढीकरणका लागि अपिल गरेका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक भएकाे उल्लेख गर्दै उनले देशकाे भाषा, संस्कृति र सभ्यताहरूकाे संरक्षण गर्दै तिनकाे समृद्धिमा लाग्नु सबैकाे दायित्व भएकाे बताएका छन् ।

नेपालीहरूकाे माैलिक विशेषता भनेकै विविधतामा एकता रहेकाे उनकाे भनाइ छ । उनले सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले असत्य माथिको सत्यको विजयका रूपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्दै शुभकामना दिएका छन् ।