सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु , के होला सहमति ?
१८ असोज काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचदलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठकले पाँचदलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ । प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फले पनि अन्तिम रूप पाउने कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।
सिट बाँडफाँटका बारेमा प्रतिनिधिसभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको उनले बताए ।
आजको शीर्ष नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट सक्ने गरी कार्यदलले काम सकेर बुझाएको जनाइएको छ । यस सम्बन्धमा छलफल गर्न सोमबार पनि रातिसम्म पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेतृत्वको बैठक बसेको थियो । बैठकलाई निष्कर्षमा पुर्याउन आज बिहान दलहरूका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको जनाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उमेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ–आफ्नो दलका तर्फबाट उमेदवारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ । रासस