गठबन्धनसँग प्रभु साहले षडयन्त्रपूर्ण साठगाँठ गरे – महासचिव पोखरेल
२६ असोज काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले पार्टीको टिकट छोडेर स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराउनु अराजनीतिक षडयन्त्रको नमुना भएको टिप्पणी गरेका छन्। एमालेसँग असन्तुष्ट रहेका साहले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारीपछि एक टेलिभिजनमा अन्तर्वार्तामा अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेपछि पोखरेलले यस्तो बताएका हुन्।
जनता समाजवादी पार्टी (जसपा)सँगको तालमेल सम्झौता र मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा साह पनि सहभागी भएको पोखरेलले दाबी गरेका छन्। साहले रौतहटको टिकट लिएर गए पनि अन्तिम समयमा आएर धोका दिएको आरोप लगाए। अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत साहले राखेर समय गुजार्ने षडयन्त्र गरेको पोखरेलको आरोप छ। सत्ता गठबन्धनको नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ गरेको पोखरेलले आरोप लगाएका छन्।
‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो। उक्त सहमति पश्चात् मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भो। निर्णय भएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेदवार दिनु भो र अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिईकन समय गुजार्ने षडयन्त्र गर्नु भो,’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन। यस प्रकारको छलछाम सत्ता गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ नै हो। रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन्। मधेस प्रदेशमा नेकपा (एमाले) र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ।’
