प्रतिस्पर्धामा गगन–राजन


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९
3.6K
SHARES

२७ असोज काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनपछि एउटा आन्तरिक अध्ययन गर्‍यो । अध्ययनपछि तयार पारिएको अनौपचारिक प्रतिवेदनमा ३८ वटा निर्वाचन क्षेत्र नेकपा (एमाले) सत्ता गठबन्धनमा रहेका पाँचै दल एकठाउँमा हुँदा पनि निर्वाचन जित्न सकिने निष्कर्ष निकालेको देखिन्छ ।

उक्त अनौपचारिक प्रतिवेदनमा काठमाडौंका चारवटा निर्वाचन क्षेत्र तत्कालीन पाँचै दल एकठाउँमा भए पनि जित्न सकिने एमालेको आकलन छ । त्यसमध्ये एउटा निर्वाचन क्षेत्र रहेको छ, काठमाडौं–४ ।  स्थानीय तहको मत परिणामको आधारमा नेकपा (एमाले)ले यस्तो प्रतिवेदन तयार पारेको थियो । स्थानीय तहको निर्वाचन सकिएको ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमय भएको छ मुलुक । त्यसमध्ये अति चर्चामा रहेको निर्वाचनक्षेत्रमध्ये एक हो काठमाडौं ४ । जहाँ दुई मुख्य पार्टीका प्रभावशाली नेताहरु चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तनिकट मानिएका डा. राजन भट्टराई ।

यो निर्वाचन काठमाडौं–४ बाट दुईपटक निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गगन थापा तेस्रोपटकको प्रतिस्पर्धामा छन् । २०७० सालमा नेकपा एमालेका उमेदवार निर्मल कुइँकेललाई दोब्बर भन्दा बढी मतले पछि पार्दै निर्वाचित भएका थापा २०७४ सालको निर्वाचनमा एमालेकै उमेदवार राजन भट्टराईलाई हराएर सांसद बनेका थिए ।

०७० सालमा निर्वाचित हुँदा थापाले २२ हजार ३३६ मत ल्याएका थिए । उनको विपक्षमा प्रतिस्पर्धा गरेका एमालेका कुइँकेलले जम्मा ९ हजार १३५ मत पाएका थिए । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पनि त्यही क्षेत्रमा प्रतिस्पर्धी थिए । उनले ६ हजार ४६२ मत पाएका थिए ।  २०७४सालमा दोस्रोपटक प्रतिस्पर्धा गर्दा यो क्षेत्रमा एमालेले मत बढाएको थियो । वाम गठबन्धन भएका कारण पनि माअ‍ोवादी केन्द्रसहितका दलले एमालेलाई समर्थन गरेका थिए । त्यसैले पनि एमालेको मत बढेको थियो ।

जित भने गगन थापाले नै निकालेका थिए । उनी निर्वाचित हुँदा २१ हजार १५८ मत ल्याएका थिए । वाम गठबन्धनका तर्फबाट एमालेका उमेदवार भट्टराईले १८ हजार १४० मत पाएका थिए ।

त्यसबेला काठमाडौं ४ मा विवेकशील साझा पार्टीले पनि चुनावमा भाग लिएको थियो । त्यो पार्टीका तर्फबाट सुबुना बस्नेतले उमेदवारी दिएकी थिइन् । उनले तीन हजार ४० मत पाएकी थिइन् । त्यसबेला विवेकशील साझा पार्टीले प्रत्यक्षतर्फ कांग्रेसलाई भोट दिएर समानुपातिकमा मात्र आफूलाई लिएको एमालेको आरोप छ ।

काठमाडौं–४ मा दोस्रो पटक उमेदवार बनेका भट्टराई यसपटक आफ्ना लागि अनुकूल भएको दाबी गर्छन् । विगतमा भन्दा एमालेको मत बढेको, धेरैपटक निर्वाचित गरेका काठमाडौं–४का मतदाताले विकल्प खोजेको तथा आफूसँग संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनपछिको सरकारले गरेका कामको फेहरिस्त पनि रहेको बताए । त्यही कारण पनि आफूले चुनाव जित्ने उनेका दाबी छ ।

“एउटा त हामी स्थानीय सरकारदेखि संघीय सरकारले गरेका कामको फेहरिस्त लिएर मतदातासामु जाँदैछौं, जुन अरु कुनै पनि दलसँग छैन,” भट्टराईले भने ।

कांग्रेसले भने थापा कांग्रेसको भावि नेतृत्व र सरकारको नेतृत्वमा पुग्ने नेता भएका कारणले पनि यहाँका मतदाताका लागि फाइदाको विषय भएको बताउँछन् ।

यसअघि सरकारमा हुँदा र संसद्मा पनि देखिने र सुनिने नेतामध्ये थापा परेका कारणले पनि उनलाई अप्ठेरो नपर्ने उनी निकट नेताहरु बताउँछन् ।

भट्टराई भने कांग्रेस कार्यकर्ताको तर्कमा दम नभएको बताउँछन् । उनी कांग्रेसभित्रको गुटीय राजनीति देखाउँदै आफ्नो नेता केपी ओली नै प्रधानमन्त्री हुने विश्वासमा छन् ।

“कांग्रेसभित्र गगनजीहरुले पाएको २३ प्रतिशत मत हो । २३ प्रतिशतबाट जित्ने व्यक्ति प्रधानमन्त्री हु्न्छ कि ७७ प्रतिशतबाट भन्ने जनताले बुझ्ने छन्,” भट्टराईले भने, “फेरि कांग्रेसमा शेरबहादुर देउवादेखि धेरै नेता प्रधानमन्त्रीको उमेदवारका आकांक्षी छन् ।”

आफूले जिते को नेतृत्वमा आउँछ भन्ने स्पष्ट भएको भन्दै त्यही कारण ओली नेतृत्वको सरकारका लागि जनताले भोट हाल्ने उनको विश्वास छ ।

कस्तो छ त त्यहाँको अवस्था ?

स्थानीय तहको मत हेर्दा नेकपा एमाले अघि देखिन्छ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा वडागत हिसाबमा प्राप्त मत १६ हजार ५०७ रहेको छ । कांग्रेसले १५ हजार ७६३ मत प्राप्त गरेको छ भने माओवादीको ८४४, राप्रपाको २२९३, जसपाको ३१७ र लोसपाको ३९ मत रहेको छ ।

एकीकृत समाजवादीको मत २ हजार ४१४ रहेको छ ।  गगन थापा निकट नेता प्रताप पौडेल विगतका चुनावमा भन्दा थापालाई यसपटक बढी सहज भएको बताउँछन् ।

“अहिले त हामी स्थानीय तहमै जम्मा ७४० मतले मात्र एमाले भन्दा पछि छौं । अहिले नेकपा एमाले पनि विभाजित अवस्थामा छ । नेकपा एसले पनि हामीलाई समर्थन गर्दैछ,” पौडेलले  भने, “त्यो भन्दा बढी गगन थापाको व्यक्तित्वलाई जनताले साथ दिएका छन् । राष्ट्रिय राजनीतिमा भूमिकाको तुलना गर्ने छन् । त्यसकारण यसपटक विगतमा भन्दा जित सहज हुन्छ भन्ने हाम्रो विश्वास छ ।”

पौडेलले निर्वाचनमा जनताको मत नै सर्वोपरी हुने जनताको चाहनालाई केन्द्रमा राखेर काम गर्ने थापाको स्वभावले पनि विश्वास बढेको बताए ।   यसपटक काठमाडौं–४मा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका साझा उमेदवार थापा हुन् त्यसैले यसपटक जित अघिल्ला चुनावभन्दा सहज छ ।