पदाधिकारी बैठक बोलाउनुस्, टिकटबारे जानकारी होस् – उपमहासचिव गजुरेल


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक ३ २०७९
2.2K
SHARES

३ कात्तिक काठमाडौ। नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको टिकट वितरणबारे जानकारी दिन पदाधिकारी बैठक बोलाउन माग गरेका छन्। सिन्धुली क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न चाहेका गजुरेललको नाम अन्तिम समयमा काटिएपछि उनी असन्तुष्ट छन्। आफ्नो भागमा परेको टिकट खोसेर लेखनाथ दाहाललाई दिएपछि उनले असहमति पत्र बुझाएका छन्।

सो पत्र पाएपछि अध्यक्ष प्रचण्डले भेट्न बोलाएको र त्यसबेला आफूले पदाधिकारी बैठक राखेर उम्मेदवारी चयनबारे सार्वजनिक जानकारी दिन माग गरेकाे उनले बताए। उनको प्रस्तावमा प्रचण्ड सहमत छन्। असोज ३१ गते विहान प्रचण्डलाई खुमलटार निवास पुगेर छलफल गरेको उनले बताए। ‘मैले अध्यक्षलाई भेटेर टिकट वितरणबारे पदाधिकारीलाई जानकारी दिन माग राखेको छु,’ गजुरेलले नेपालखबरसँग भने,‘उहाँले बोलाउँछु भन्नुभएको छ, अहिलेसम्म डाक्नुभएको छैन।’

गजुरेलले बुझाएको असहमति पत्र अध्यक्षबाहेक अरु नेताहरुलाई नदिएको पनि बताए । ‘मैले अरु पदाधिकारीलाई पनि दिएको छैन, पार्टीको तर्फबाट टिकट दिने कमिटीमा म पनि थिए, २२ गते बेलुकासम्म मेरै नाममा रहेको टिकट एकाएक कसरी र किन खोसियो, यो जानकारी र चित्तबुझ्दो जवाफ थाहा नपाई कसरी चुनाव प्रचारमा खटिन सकिन्छ?’ गजुरेलले थपे।

स्रोतका अनुसार गजुरेलले अध्यक्षलाई बुझाएको असहमति पत्रको सम्बोधन नभए र टिकट वितरणप्रति चित्तबुझ्दो जवाफ नपाए उनी चुनावमा खटिन संभावना कम छ। ‘उहाँ पार्टीको जिम्मेवार पदाधिकारी हुनुहुन्छ, आँफै नउठ्ने घोषणा गर्नेबाहेक सबै पदाधिकारीले टिकट पाउँदा गजुरेलले किन पाउनुभएन ?’ उनी निकट स्रोतले भन्यो, ‘यो कुराको जवाफ नआई खटिने वातावरण नै बन्दैन।’

अहिलेसम्म प्रचण्डले गजुरेलको भूमिका के हुने खुलाएका छैनन्। ०७४ सालमा सिन्धुली २ बाट उनले चुनाव जितेका थिए। गजुरेललेले टिकट वितरणको प्रक्रिया, उम्मेदवार छनौट मापदण्ड सबैले थाहा दिन अध्यक्षलाई सुझाव दिएको बताए।