हामीलाई गणतन्त्र उल्ट्याउने षड्यन्त्र सह्य हुँदैन – डा. भट्टराई
४ कात्तिक काठमाडौं। नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरू सबै लर्को लागेर अब पनि संसदमा गइरहनुको औचित्य नहुने बताएका छन्। अब संसद्मा गइरहनुको औचित्य नदेखिएकाले आफू चुनाव नलडेको उनले बताए। राजनीतिमा अब युवा पुस्ता आउनुपर्ने उनले बताए।
काठमाडौं ७ मा आज भएको कार्यक्रममा त्याग गर्ने नेताका रूपमा गणेशमान सिंहको उदाहरण दिँदै भट्टराईले भने, ‘अब हामीले नयाँ पुस्तालाई बिस्तारै अगाडि ल्याउनुपर्छ। ५ वर्ष स्थिर सरकार र विकास तथा समृद्धि दिनुपर्छ। नयाँ पुस्तालाई हस्तान्तरण गर्न मैले चुनाव नलडेको हुँ। काँग्रेस-माओवादी-एकीकृत समाजवादीका नेताहरूलाई जानकारी गराएरै चुनाव नलडेको हुँ।’
भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिए। उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरू अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने चेतावनी दिएका हुन्। उनले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे। उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरूलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको समेत बताए।