मंसिर ४ प्रतिगमनलाई पराजित गर्ने अवसर हो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ४ २०७९
2K
SHARES

४ कात्तिक काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन्। वाम गठबन्धनको शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखा परेको बताए।

एमालेप्रति लक्षित गर्दै उनले संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भूमरीतिर फेरि धकेल्ने कसरत गरिरहेको बताए। प्रचण्डले भने, ‘मंसिर ४ गतेको निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै हुँदै छैन। किनकि केही समयदेखि नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखा परे। संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भूमरीतिर फेरि धकेल्ने कसरतहरू भए। त्यो प्रवृत्ति, विचारका विरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो। संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो।’

उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गरे। प्रचण्डले देशमा पश्चगमन र अग्रगमनको दुई वटा विचार र प्रवृत्ति देखा परेको बताए। उनले आगामी निर्वाचन देश, संविधान र लोकतन्त्रले जित्ने की हार्ने भन्ने कुराको निर्धारण गर्ने बताए। उनले गठबन्धन विरोधी विभिन्न प्रचार भएको भन्दै गठबन्धन यस पटक मात्रै भएको झैँ नबुझ्न आग्रह गरे।

प्रचण्डले भने, ‘अहिले दुई वटा विचार, प्रवृत्ति आमनेसामने भएका छन्। एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर। एउटा संविधान मास्नेतिर, अर्को संविधानको रक्षा गर्नेतिर। एउटा लोकतन्त्रका विरुद्ध अर्को लोकतन्त्रका पक्षमा। त्यस कारण ४ गतेको निर्वाचन सामान्य छैन। देशले जित्ने हो कि होइन, संविधानले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचनले। यसलाई गम्भीरतापूर्वक आत्मसाथ गरी जनताको बीचमा बुझाउन आग्रह गर्दछु। गठबन्धन अहिले मात्रै बनको जसरी बुझ्नु पनि उचित हुँदैन।’