हामी एक्लै १५० सिट जित्छौँ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १२ २०७९
3K
SHARES

१२ कार्तिक झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै १०० सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी गरे ।

शुक्रबार गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले शनिबार दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने, “प्रत्यक्षमा कमसेकम १०५ सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका ओली आज दिनभर झापा क्षेत्र नम्बर–५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशन समेत दिए ।

अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भने, “अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ । तर, दुईतिहाइ बहुमत ल्याउन १३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै १५० सिट जित्ने योजनाका साथ अघि बढेका छौँ र जित्छौँ पनि ।” झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नम्बर–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन चुनावी मैदानमा छन् । झापा–५ मा ओली उमेदवारका रूपमा उभिएका छन् । उनले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रह समेत गरे । रासस