कसैको पनि बहुमत आउँदैन – प्रधानमन्त्री देउवा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १८ २०७९
2.5K
SHARES

१८ कार्तिक डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन अझै १० देखि १५ वर्षसम्म लम्बिने बताएका छन् । दोस्रो चरणको चुनावी अभियानअन्तर्गत डडेलधुरामा पहिलो चुनावी सभालाई सम्बोधन गर्दै देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले गठबन्धन १० देखि १५ वर्षसम्म गर्नु पर्ने जिकिर गरे । “राजनैतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक छ,” उनले भनेका थिए ।

शुक्रबार बिहान डडेलधुराका सञ्चारकर्मीसँग प्रधानमन्त्री देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताए ।  “यो समावेशी संविधान हो । यसमा सबै जाती, जनजाती मिलाएर अगाडि बढ्न आवश्यक छ । त्यसैले सबै पार्टीले मिलेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो,” उनले भने । देउवाले मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा भने शंका नगर्न आग्रह गरे ।

“पूर्वदेखि पश्चिमसम्म अहिले नेपाली कांग्रेस र गठबन्धनको पक्षमा मतदाता सकारात्मक देखिएका छन्,” देउवाले भने, “त्यसैले नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा दुई मत छैन ।”  कांग्रेस पहिलो पार्टी बनेपछि अबको ५ वर्षमा धेरै परिवर्तन हुने प्रधानमन्त्री देउवाले दाबी गरे । “गठबन्धनको पक्षमा मतदान गर्न र नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन सम्पूर्ण नेपालीमा आग्रह गर्न चाहन्छु,” देउवाले थपे, “कांग्रेस ठूलो पार्टी भए अबको ५ वर्षमा धेरै ठूलो परिवर्तन हुन्छ । विकासले फड्को मार्छ ।”

आफ्नो चुनावी क्षेत्रमा व्यस्त देउवा
प्रधानमन्त्री देउवा अहिले गृहजिल्ला डडेलधुरामा व्यस्त छन् । डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उमेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा आज पनि चुनावी सभामै व्यस्त रहने छन् ।

नेपाली कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार देउवाले आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाविरुद्ध लामोसमय देउवाकै स्वकीय सचिव रहेका बीपी कांग्रेसका कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाललगायतका ८ जना उमेदवार चुनावी मैदानमा छन् ।