राष्ट्रपतिले संविधान उल्लंघन गरेको कांग्रेस नेता कोइरालाको आरोप
२० कार्तिक विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका छन्। आज आइतबार चुनाव प्रचारप्रसारका क्रममा विराटनगर–११ मा पुगेका कांग्रेसका प्रभावशाली नेता समेत रहेका कोइरालासँग आमनागरिकले नागरिता विधेयक पास नहुँदा गैरनागरिक बनेर बस्नु परेको गुनासो गरे। सर्वसाधारणको गुनासो सुनेपछि नेता कोइरालाले राष्ट्रपतिको कारण नागरिकता समस्या समाधान नभएको बताए।
मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेता कोइरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेयक पास नभएको बताए। आइतबार चुनावी प्रचारप्रसारका क्रममा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेता कोइरालाले मंसिर ४ गते हुने निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनको सरकारले नागरिकता विधेयक पास गर्ने दावी समेत गरे।