ओलीसँग मिल्ने सम्भावनै छैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २१ २०७९
1.9K
SHARES

२१ कात्तिक काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन अब १३ दिनमात्रै बाँकी छ ।  सबै उमेदवारहरु आ आफ्नो निर्वाचनमा केन्द्रित रहेका छन् । देशभर चुनावी अभियान जारी छ । शीर्ष नेताहरु पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पनि अहिले देश दौडाहामा छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो निर्वाचन क्षेत्रको दौडमै रहेका बेला बाह्रखरीसँग विशेष कुराकानी गरेका छन् ।

गोरखा निर्वाचन अभियानमा रहेका दाहालले तनहुँको आँबुखैरेनीमा बाह्रखरीसँग गरेको भिडियो वार्तामा देशभर गठबन्धनको पक्षमा माहोल देखिएको र आगामी सरकार पनि गवठबन्धनकै बन्ने स्पष्ट पारे । उनले आफूले सार्वजनिकरुपमा गरेका कुनै प्रतिवद्धताबाट बाहिर नगएको दाबी गर्दै आगामी निर्वाचनपछि पनि एमालेसँग मिलेर सरकार बनाउने विषयमा सोच्दा पनि नसोचेको र त्यस्तो नहुने बताए ।

उनले कुराकानीका क्रममा व्यक्त गरेका धारणाको सार यस्तो छ ।

–समग्र अवस्था हेर्दा गठबन्धनको पक्षमा वातावरण राम्रो बन्दै गएको छ, बनाउँदै पनि लगिएको छ ।

 

–सातै प्रदेशमा सबै नेता गएर माहोल बनाइएको छ । सबै आ आफ्नो ठाउँबाट पनि माहोल बनाउने काम भइरहेको छ

।

–गठबन्धनको तर्फबाट जसरी अघि बढेका छौँ । निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुन्छ ।

–गोरखामा म आएको कुरालाई धेरै बहस भएका छन् । तर गठबन्धनको पक्षमा उत्साह देखिएको छ ।

–गठबन्धन बहुमत आयोभने भन्नेमा आशंका नगरौँ, स्पष्ट बहुमत आउँछ सुनिश्चित छ । सरकार गठबन्धनको बन्छ ।

–सरकारको नेतृत्व कसले गर्ने भन्नेमा कंक्रिटरुपमा टुंगो लगाएका छैनौँ ।

–सरकारको नेतृत्वको विषयलाई गम्भीर बनाएका छैनौँ । सल्लाहले जे पनि गर्न सकिन्छ । गठबन्धनभित्र सरकारको नेतृत्व कसले गर्ने भन्नेमा उदार छौं ।

–चुनावपछि गठबन्धनभित्रैबाट आलोपालो सरकार बन्छ । पहिला कसले गर्ने भन्नेमा पार्टीहरुका बीचमा सल्लाह हुनै बाँकी छ । विशेष गरेर कांग्रेस र माओवादीबीच छलफल हुन बाँकी छ ।

–संविधान र लोकतन्त्रका पक्षधर विजयी हुनुपर्छ । नेतृत्वका लागि दायाँबायाँ नगर्ने तर आयो भने लिने हो ।

–लडाइँमा आमनेसामने भएको कांग्रेस र माओवादी नै हो । सम्झौता हुँदा पनि यिनै दुई दलबीच नै हो ।

–हामीले १२ बुँदे समझदारी गर्दा हामी दुई पार्टीका बीचमा नै हस्ताक्षर भएर प्रक्रिया सुरु भएको हो ।

–मृत्युशैयाबाट गिरिजाप्रसाद कोइरालाले पनि तपाईंले नै यो प्रक्रिया टुंगोमा पु¥याउनुपर्छ भन्नुभएको थियो ।

–देउवासँग विगतमा प्रधानमन्त्री हुँदा नै शान्तिवार्ताको पहिलो कुरा गरेको हो । त्यसबेलादेखि नै देउवासँग सम्बन्धको सुरुवात भएको हो ।

–१२ बुँदे हुँदा देउवाले हिरासतबाट हस्ताक्षर गर्नुभएको हो । यो प्रक्रियामा उहाँको पनि सहभागिता छ ।

–आजका मितिसम्म हेर्दा देउवाजी लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्नेमा गिरिजाबाबुकै पथमा हुनुहुन्छ ।

–पार्टी एकता हुँदो जे सोचिएको थियो त्यस्तो भएन । ओलीले पनि हस्ताक्षर गरेको संविधान थियो तर पछि संविधान नै मान्नुभएन ।

–राम्रै होला भन्ठानेर एकता गरेँ, पछि उहाँ लुकेर बस्नुभएको रहेछ, कसरी संविधान प्रहार गर्न सकिन्छ भनेर ।

–भन्न त उहाँले पनि संविधान मन परेको छैन भन्नुहुन्थ्यो । तर उहाँले एम्बुस थापेर बस्नुभएको रहेछ । तीनवर्ष सँगै बसेपछि थाहा पाइयो ।

–हामीसँग दुई तिहाइ हुँदा पनि, बहुमतले कारबाही गर्दा पनि षडयन्त्र गरेर लागु हुन दिइएन ।

– केपी ओलीसँग मिलेर के पाउनुभयो भन्ने प्रश्न मलाई आउँछ, मैले भन्ने गरेको छु– ज्ञान पाएँ ।

–चुनावपछि पनि एमालेसँग गठबन्धन हुँदैन, प्रधानमन्त्रीको लागि गठबन्धन छोड्न सक्दिन ।

–म केपीसँग मिल्न चाहेको भए अहिले पनि मिल्न सक्थेँ । शान्ति प्रक्रिया र लोकतन्त्रमाथि प्रहार हुँदासम्म यो गठबन्धन कायमै रहन्छ ।

–मैले पब्लिकली नै भनेको कुरा यताउता हुँदैन ।

–मानिसहरुले न्यारेटिभ गलत गरिदिए । अहिले सच्याउन जरुरी छ ।

–दुई दुईपटक संसद् विघटनमात्रै होइन, नागरिकता विधेयकमा हेर्नुस् त संविधानको रक्षकबाटै संविधान उल्ट्याउने काम भएको । यस्तो पनि गर्न मिल्छ ?

–केपी ओली रहेसम्म यस्तै रहन्छ । संविधान गठबन्धनले नै बचाउनैपर्छ

–अहिलेका परिवर्तन रहेसम्म प्रचण्डको कारणले आएको हो ध्वस्त बनाउनुपर्छ भनेर केपी शर्मा ओली लागिरहनुभएको छ ।

–जित्नलाई गोरखामा गयो भन्नेको चिन्ता लाग्छ । चुनाव जित्नका लागिमात्रै गोरखा आएको होइन ।

–माओवादी पटक पटक चुनावमा होमिइसकेको छ । अब लोकतान्त्रिक गणतन्त्रबाट यताउता हुने अवस्था छैन ।