प्रचण्डको संगतले होला बन्दुकको भाषा बोल्न थाले – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २१ २०७९
1.7K
SHARES

२१ कात्तिक काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेचको नेपालको पश्चिमतर्फको भूमि फिर्ता ल्याइछाड्ने बताएका छन्।  आफूले दार्चुला पुगेर भारतले मिचेको भूमि फिर्ता ल्याउने भनेर गरेको भाषणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको जवाफबारे उनले यस्तो भनेका हुन्।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले सोमबार गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधनका क्रममा उनले देउवामाथि कटाक्ष गरेका हुन्।  ‘हामीले हाम्रो भूमि फिर्ता ल्याउँछौँ भन्दा कोही छिमेकी रिसाउँछन् भन्ने तनाव किन लिनु? मात्रिकाप्रसाद कोइरालाले चीनतर्फ राखेका भारतीय सेनाका १७ वटा चेक पोस्ट वार्ता गरेर हटाएकै हो’, उनले भने, ‘तर देउवाजीले सीमामा गएर लडेर ल्याउने हो र भूमि भनेछन्। बन्दुकले मान्छे मार्ने मात्रै हो, प्रचण्डको संगतले होला देउवा पनि बन्दुकको भाषा बोल्न थाले।’

उनले नेपालको भूभाग भारतको नियन्त्रणमा रहेकाले वार्ता गरेर फिर्ता ल्याउने उल्लेख गरे। ‘सन् १९५२ मा उत्तरतर्फ भारतले १७ वटा चेक पोस्ट राखेको थियो। तत्कालीन कोइराला सरकारले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाउने काम गर्नु हुने थिएन’, उनले भने, ‘हामीले चेक पोस्ट हटायौँ भने भूमि फिर्ता ल्याउँछौँ भन्दा छिमेकी रिसाउलान् भनेर डराउनुपर्दैन।’

उनले देउवामाथि कटाक्ष गर्दै भारतले लगाएको नाकाबन्दीका बेला चुइँक्क नबोलेको पनि उल्लेख गरे। ‘नाकाबन्दी लाग्दा चुइँक्क बोल्न सकेनन्। घरमा चुल्हो निभेको छ तर सीमामा आएको समस्याले यस्तो भयो भने’, उनले भने, ‘तुइन काटेर नेपालीलाई खोलामा झारेर ज्यान लिँदा पनि बोलेनन्। होइन, कति साह्रो घुँडा टेक्न सकेको?’