सागर ढकाललाई प्रचारप्रसार माथि रोक लगाएको बारे यस्तो रहेछ वास्तविक
२२ कात्तिक डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले सोमबार आफूलाई डडेलधुरामा प्रचार गर्न रोक लगाइएको बताए ।
‘मलाई जोगाइदिनुस्, जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ । मलाई अब प्रचारप्रसारमा डडेलधुरामा रोक लगाइएको छ,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘शेरबहादुरले खुलमखुला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासनले आज मलाई हर्क साम्पाङले जस्तो माइकिङ गर्न पनि दिएको छैन । मलाइ रोकेको छ ।’ ढकालले सामाजिक सञ्जालमार्फत प्रचारमा रोक लगाइएको आरोप लगाएपछि त्यसको सर्वत्र विरोध भयो ।
जिल्ला प्रशासन कार्यालय डडेलधुराले भने सागरको चुनावी प्रचारमा कुनै अवरोध नभएको दाबी गर्दै विज्ञप्ति जारी ग¥यो । विज्ञप्तिमार्फत प्रशासनले आचारसंहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उमेदवारको प्रचारप्रसार कार्यमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नगरिएको बतायो । ‘निर्वाचन आचारसंहितामा व्यवस्था भएबमोजिम प्रचारप्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरिने प्रचारप्रसारका कार्यक्रमहरूमा संलग्न सम्पूर्ण राजनीतिक दल र उमेदवारहरूको आवश्यक सुरक्षाको प्रत्याभूतिसमेत गरिने सबैमा जानकारी गराइन्छ,’ प्रशासकीय अधिकृत हेमप्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो ।
भएको के हो ?
सोमबार साँझ अमरगढी नगरपालिका–१ मालमका करिब २०/२२ युवा जिल्ला सदरमुकामस्थित तुफानडाँडा चोकमा माइकिङ गर्दै थिए । उनीहरु माइकिङ गरेर आफ्नो क्षेत्रको विकास भए मात्रै निर्वाचनमा सहभागी हुने र भोटको सदुपयोग हुनुपर्ने माग गर्दै थिए । सार्वजनिक क्षेत्रमा प्रशासनको अनुमति नलिई कार्यक्रम गर्न थालेको र केही उमेदवारविरुद्ध गालीगलौज गर्न थालेको गुनासोपछि प्रहरी टोली तुफानडाँडा पुग्यो ।
मालमका युवालाई सम्झाउने क्रममा सागर ढकालको टोली पनि माइकिङमा प्रचार गर्दै त्यसमै मिसियो । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार तुफानडाँडा पुग्नुअघि बागबजारस्थित प्रहरी टोलीले पनि सवारीसाधनमा माइक जडान गरी प्रचार गर्न नपाइने भन्दै सम्झाएको थियो ।
“सवारी साधनमा माइक जडान गरी प्रचारप्रसार गरे उमेदवारी रद्दसम्मको व्यवस्था छ,” उनले भने, “तर मालम क्षेत्रका युवालाई सम्झाउने क्रममा सागरको टोली त्यहाँ पुगेर प्रहरीसँग बहस गर्न थालेको हो । हामीले कसैलाई पनि प्रचारमा रोक लगाएका छैनौँ ।” यसअघि भागेश्वर गाउँपालिकामा पनि ढकालले निर्वाचन आचारसंहिता विपरित माइकिङ गरेर प्रचार गरेको मौखिक उजुरीपछि निर्वाचन कार्यालय र प्रशासनको टोलीले उनलाई सम्झाएको थियो ।
सागर ढकाल मान्दैनन् निर्वाचन आचारसंहिता
निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि निर्वाचन आचारसंहिता लागु गर्दै उमेदवारहरूले १५ दिनमात्र निर्वाचन प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ । उमेदवारले जुलुस, आमसभा र प्रचारप्रसार गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने व्यवस्था छ । डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार ढकालले भने अहिलेसम्म न कुनै कार्यक्रम गर्दा प्रशासनको अनुमति लिएका छन् न त प्रचारप्रसारमा जाँदा जानकारी नै दिएका छन् । “कुनै पनि चुनावी कार्यक्रम गर्दा प्रशासनलाई २४ घण्टा अगाडि जानकारी दिनुपर्ने व्यवस्था छ,” प्रमुख जिल्ला अधिकारी जोशीले भने, “तर, अहिलेसम्म सागर ढकालज्यूले चुनावी कार्यक्रमबारे जानकारी दिनुभएको छैन ।”
प्रचारप्रसारमा प्रयोग गर्न प्रतिनिधिसभा उमेदवारले बढीमा दुईवटा सवारीसाधनको अनुमति मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत लिनुपर्ने निर्वाचन आचारसंहितामा व्यवस्था छ । डडेलधुरका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लको अनुसार ढकालले भने अहिलेसम्म सवारीसाधनको अनुमति पनि लिएका छैनन् । “ढकालज्यूले अहिलेसम्म सवारी साधनको अनुमति लिनुभएको छैन,” उनले भने, “प्रचारको शैली र रुटबारे पनि जानकारी दिनुपर्ने हो । तर, उहाँले त्यो पनि दिनुभएको छैन ।”