मंसिर ४ को चुनाव अग्रगमन र पश्चगमनबीचको जनमत-संग्रह हो – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २२ २०७९
2.2K
SHARES

२२ कार्तिक काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने चुनाव अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको जनमतसंग्रह भएको बताएका छन्।

मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ। ‘यो चुनाव अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको जनमतसंग्रह हो’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एकातिर शान्तिप्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्ति छन् भने अर्कोतिर द्वन्द्व चर्काउने, संविधान च्यात्ने, भूराजनीतिक भूमरी निम्त्याउने शक्ति छन्।’

शान्ति र विधिको शासनबिना सुशासन र समृद्धि नहुने उल्लेख गर्दै डा. भट्टराईले यस विषयमा मतदातालाई गम्भीर हुन आग्रह गरेका छन्।कुनै दल वा नेताको नाम नलिए पनि पाँच दलीय गठबन्धनका नेता डा. भट्टराईले दुई दुईपटक प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओली एवं उनी अध्यक्ष रहेको नेकपा एमालेले गरेको गठबन्धनलाई पश्चगामी भन्न खोजेका हुन्।