आचारसंहिताका यी नियम सबैले पालना गर्नैपर्छ
२४ कार्तिक काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता उल्लघंन गर्ने व्यक्ति तथा संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधिरहेको छ । आचारसंहिता उल्लंघन गर्ने उमेदवारको उमेवारी रद्द गर्नेसम्मको कारबाही गर्ने आचारसंहिता छ ।p
आचार संहिता उमेदवारमात्रै नभएर सबैले पालना गर्नुपर्छ । आयोगका अनुसार निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री सेयर गर्न हुँदैन । निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर गर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने आचारसंहितामा उल्लेख छ ।
कुनै पनि किसिमबाट मतदाताको मतदान कार्यको गोप्यता भंग गर्ने कार्य गर्न नहुने उल्लेख रहेको आचारसंहिताले प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने बताउँछ ।