पुराना पुस्तालाई सरापेर युवाको नेतृत्व विकास हुँदैन – प्रचण्ड
१ मंसिर काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना पुस्तालाई गाली गरेर नयाँ पुस्ताको विकास नहुने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित गठबन्धनको चुनावी सभामा उनले अभिभावकलाई बदनाम गरेर नेतृत्व विकास नहुने बताए ।
“पार्टीहरूलाई, नेतृत्वहरूलाई हल्का ढंगले टिप्पणी गर्ने एउटा फेसन बनाउन खोजिएको छ । ती कोण प्रतिकोणबाट जनताले गम्भीर ढंगले विचार गर्न जरुरी छ । पुराना पुस्तालाई सरापेर नयाँ पुस्ता राम्रो विकास हुन सक्दैन,” उनले भने, “आफ्ना बाबा आमालाई, आफूलाई राजनीतिक रूपमा जन्म दिने अभिभावकहरूलाई गाली गरेर, बदनाम गरेर युवाहरूको नेतृत्व विकास हुन सक्दैन ।”
उनले काठमाडौं क्षेत्र नम्बर २ की उमेदवार ओनसरी घर्ती परिस्थिति मिले महिला प्रधानमन्त्री बन्न सक्ने बताए । उनले ओनसरीलगायतका गठबन्धनका उमेदवारलाई निर्वाचित गर्न आह्वान गरे ।
“उपेन्द्रजी (उपेन्द्र कार्की) जीले भनेको कुरा गलत छैन । परिस्थिति मिल्दै गयो भने महिला प्रधानमन्त्री हुन सक्ने इच्छा शक्ति, त्याग भएको नेता हो, ओनसरी घर्ती । यो क्षेत्रका जनताको निम्ति ऐतिहासिक अवसरको रूपमा आएको छ,” उनले भने । प्रचण्डले मंसिर ४ गतेको निर्वाचन अग्रगमन र प्रतिगमनको जनमत संग्रह जस्तै हुन लागेको पनि बताए । यो निर्वाचन प्रतिगमनलाई सदाका निम्ति परास्त गर्ने अवसरको रूपमा आएको उनले बताए ।