चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन – अध्यक्ष थापा


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर ११ २०७९
1.4K
SHARES

११मंसिर काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन हारेर आफूले व्यक्तिगत रूपमा केही नगुमाएको बताएका छन्।  तर देशका लागि आफूले साँचेको सपना हारेकामा आफू दुःखी भएको उनले उल्लेख गरेका छन्।‘चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन। नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु’, थापाले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हेटौंडालाई राजधानी त बनाएँ। तर, काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ।’

एमालेको चुनाव चिह्न सूर्य लिएर चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष थापा मकवानपुर १ मा तेस्रो स्थानमा रहँदै हारेका हुन्। उक्त क्षेत्रमा प्रतिस्पर्धी कांग्रेसकी नेता महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपा नेपालका अध्यक्ष थापालाई पाखा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपकबहादुर सिंह विजयी भए। निर्वाचनमा विजयी सिंहले २७ हजार ८ सय १६ तथा पराजित डिना र थापाले क्रमशः २५ हजार ४ सय २३ र २५ हजार ४ सय २० मत प्राप्त गरे।