समानुपातिकतर्फ ४० दलको करिब १२ लाख मत खेर जाँदै !


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २० २०७९
1.8K
SHARES

२० मंसिर काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनको ‘थ्रेसहोल्ड’सम्बन्धी व्यवस्थाका कारण समानुपातिकतर्फ तेस्रो भएको दल नेकपा (माओवादी केन्द्र)ले पाएको भन्दा बढी मत खेर जाने भएको छ । नेकपा (एकीकृत समाजवादी)देखि कम मत प्राप्त गर्ने ४० दलले पाएको मत खेर जाने भएको हो ।

त्यसरी खेर जाने मत माओवादी केन्द्रले पाएको मत भन्दा बढी हुन्छ । एक करोड ५ लाख ६० हजार ६७ मत गणना हुँदा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । तर, एकीकृत समाजवादीदेखि कम मत पाएका ४० दलले पाएको मत ११ लाख ८३ हजार ३३६ छ । जुन कुल सदर मतमा गणनासमेत हुने छैन ।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ ले कुन सदर मत गणना हुँदा तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना नहुने व्यवस्था गरेको छ ।  “उपदफा (२) बमोजिम दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन,” प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा (१२) मा भनिएको छ ।

अझै समानुपातिकतर्फको केही मतगणना सकिएको छैन । यो सबै गणना सकिँदा करिब १२ लाख मत खेर जाने निश्चित छ । ऐनले तोकेको ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ नकाट्ने दलहरू समानुपातिकमा नपर्ने मात्र होइन उनीहरूले पाएको मत सिट बाँडफाँटका क्रममा गणनासमेत हुँदैन ।  प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ६० को उपदफा ११ मा समानुपातिकतर्फ प्रतिनिधित्वका लागि दलले तीन प्रतिशत मत पुर्‍याउनुपर्ने प्रावधान राखेको छ । “समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उमेदवार निर्वाचित हुनेछ,” उपदफा ११ मा भनिएको छ ।

एकीकृत समाजवादीले अहिलेसम्म पाएको दुईलाख ९८ हजार ३९३ मत, नागरिक उन्मुक्ति पार्टीले पाएको दुई लाख ७१ हजार ७२२ मत, लोकतानित्रक समाजवादी पार्टी (लोसपा)ले पाएको एक लाख ६७ हजार ३६७ मतसहित त्यो भन्दा कम पाएका सबै दलले पाएको मत दलले पाएको कुल सदर मतमासमेत गणनामा नहुने भएको हो ।

यसरी खेर जाने मत अहिलेसम्मको मत गणनामा ११ लाख ८३ हजार ३३६ पुगेको छ । खेर जाने यो मत अझै बढ्ने निश्चित छ ।

प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीदेखि प्रत्यक्षतर्फ चार सिट जितेको लोसपा, प्रत्यक्षमा तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टी तथा प्रत्यक्षर्फ १/१ सिट जितेका पाँच पार्टी भने समानुपातिकतर्फ तीन प्रतिशत मत नपाएकै कारण राष्ट्रिय दल बन्नबाट वञ्चित भएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्ने व्यवस्था रहेको छ ।