सपथ ग्रहणपछि मात्रै नयाँ सरकार बन्नुपर्छ – प्रचण्ड
३ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको सपथ ग्रहणपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा नवनिर्वाचित सांसदहरुलाई बधाई दिँदै उनले छिट्टै नयाँ सरकार गठन हुने पनि बताए । उनले आज बसेको पदाधिकारी बैठकमा सांसदहरुको सपथ ग्रहण नगर्दा नै सरकार गठन गर्नु सही नभएको निष्कर्ष निकालिएको बताए । “विगतमा सरकार गठन गर्दा सांसदहरुको बैठक राख्दा सांसदहरुको बैठक नहुँदै सरकार गठनको नजिर जस्तो बन्न गएको छ । त्यो सही होइन्,” उनले भने ।
उनले निर्वाचन आयोगले राष्ट्रपति कहाँ र राष्ट्रपति कार्यलयबाट निर्वाचित सांसदहरुको नाम गइसकेपछि जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर सपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढाउनु सुल्टो हुने बताए । “…जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधिसभाका सबै सदस्यको सपथ ग्रहण गराइसकेपछि सबै पार्टीका संसदीय दलको बैठक बस्नु र सरकार गठनको प्रक्रिया पनि सांसदहरुको सपथ ग्रहण गराइसकेपछि गर्नु सुल्टो हुन्छ । उचित हुन्छ । विगतको परम्परा पनि त्यही हो,” उनले पदाधिकारी बैठकको निष्कर्ष सुनाउँदै भने ।