सत्ताका लागि अर्को गठबन्धन बनाउन हुँदैन – महामन्त्री शर्मा
५ पुस काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् ।मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा महामन्त्री शर्माले निर्वाचनमा जाँदा एउटा र चुनाव सकिएपछि सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुनमा जोड दिए ।
सत्ताको आकांक्षा, आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने कुरामा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्षहरू गम्भीर हुनुपर्ने उनले बताए । उनले सबै दलले गठबन्धनको आवश्यकता र औचित्यलाई भुल्न नहुने धारणा राखे । कुनै समय बहुमत प्राप्त गरेको कांग्रेस अहिले ठूलो दल हुनुमा माओवादी र एकीकृत समाजवादीको साथ र समर्थनलाई भुल्न नहुने उनको भनाइ छ ।