१७ मन्त्रालयमा आकांक्षीको लाइन, भागबण्डामा हम्मे
१३ पुष काठमाडौं । सात राजनीतिक दलबाट अब १७ जना मन्त्री चयन गर्नुपर्ने छ । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् हुने संवैधानिक व्यवस्थाअनुसार सोमबार आठ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ । १७ जना थप मन्त्री बन्न सक्ने भए पनि एउटै पार्टीबाट त्योभन्दा बढी आकांक्षी देखिएका छन् । आकांक्षी बढी भएपछि सरकारमा जाने व्यक्तिको टुंगो लगाउन एउटा मापदण्ड बनाउने तयारी गरिएको छ ।
“विगतमा अवसर नपाएका, पटक पटक निर्वाचित भएकालाई सरकारमा पठाउने भन्ने हाम्रो तयारी रहेको छ । शीर्ष नेताको बैठक बसेर यस विषयमा टुंगो लगाइनेछ,” नेकपा एमालेका एकजना प्रभावशाली नेताले भने । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेमा पदम गिरि, विद्या भट्टराई, सूर्य थापा, ठाकुर गैरे, भीम आचार्य, एलपी सावाँ, रघुबीर महासेठ, गोकर्ण विष्ट, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरुले आकांक्षा राखेका छन् । तर नेकपा एमालेले यसअघि चारजना सरकारमा पठाइसकेको हुँदा अब बाँकी चार जनाजतिमात्रै भाग पाउन सक्ने देखिएको छ ।
त्यस्तो अवस्थामा भूगोल र समावेशी पनि बनाउनुपर्ने हुँदा सबै आकांक्षीलाई समेट्न नसकिने ती नेताको दाबी छ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र उपप्रधानमन्त्री पनि पाइसकेकाले अब तीनजनालाई तत्कालै सरकारमा सहभागी गराउने तयारी गरेको छ ।
आकांक्षी बढी भए पनि रेखा शर्मा, सुदन किराँती र शक्ति बस्नेतलाई सरकारमा लैजाने तयारी भएको माओवादी अध्यक्ष प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ । माओवादीमा हितराज पाण्डे, अमनलाल मोदी, माधव सापकोटा, सूर्य दोङ, हरि चौधरी, महेन्द्र यादवलगायतका आकांक्षी रहेका छन् ।
यादव बाबुराम भट्टराई समूहका भएकाले उनलाई पनि मन्त्री बनाउन दबाब रहेको स्रोत बताउँछ । गृह या अर्थमध्ये एक मन्त्रालयको दौडमा रहेका नेता वर्षमान पुन भने अहिले सरकारमा नजाने स्रोतले जानकारी दिएको छ । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भइसकेका कारण माओवादीले पुनलाई अहिले सरकारमा नलैजाने दाहाल निकट विश्वस्त स्रोत बताउँछ ।
तर माओवादीले उपराष्ट्रपतिमा ओनसरी घर्तीलाई अघि बढाउने तयारी गरेको पनि स्रोतको दाबी छ । सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि मनिष झा, शिशिर खनाल, डोलप्रसाद अर्याल, तोसिमा कार्की, चन्दा कार्की, सोविता गौतमलगायतका आकांक्षी रहे पनि मन्त्रालय हेरेर मात्रै व्यक्ति चयन गर्ने सो पार्टीको तयारी छ ।
“हामीले पाउने मन्त्रालय कुन हुन्छ, कसको विज्ञता सो मन्त्रालयसँग सम्बन्धित छ उसैलाई पठाउने तयारी गरेका छौँ,” एक नेताले भने । रास्वपाका ती नेताका अनुसार उपसभामुखसहित अब कम्तिमा पनि दुई मन्त्रालय सो पार्टीले पाउनेछ ।
त्यसैगरी जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गरेको छ भने अहिलेसम्म सरकारमा कसैलाई पठाएको छैन । सो पार्टीको आज संसदीय दलको नेता चयन गर्ने र सरकारमा जाने विषयमा निर्णय गर्ने तयारी छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएकाले सो पार्टीका सांसद अशोक राई, राजकिशोर यादव, प्रदीय यादवलगायत सरकारमा जाने चर्चा छ । तर सो पार्टीले पाउने मन्त्रालय कति हो भन्ने शीर्ष नेताको बैठकले अझै टुंगो लगाएको छैन । स्वतन्त्र तीन सांसद पनि सरकारमा जाने दौडमा छन् । अमरेश कुमार सिंह, प्रभु साह, किरण साह सरकारमा जाने दौडमा रहेका छन् ।
तर अमरेश कुमार सिंहले बाह्रखरीसँगको कुराकानीमा सरकारमा जाने कुनै तयारी नभएको बताए । जनमत पार्टीले पनि एकजना सरकारमा पठाइसकेको छ भने महत्वपूर्ण मन्त्रालय पाए सो पार्टीका अध्यक्ष सीके राउत सरकारमा जाने तयारीमा छन् ।