एलओडीका सञ्चालक श्रेष्ठ पक्राउ
२२ असार काठमाडौँ। काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका फरार अर्का सञ्चालक पनि पक्राउ परेका छन्। नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर सञ्चालक रुदिलबल्लभ श्रेष्ठलाई ललितपुर प्रहरी परिसरको टोलीले शुक्रबार बिहान कुपन्डोलबाट पक्राउ गरेको हो। ललितपुर प्रहरी परिसरले एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाललाई पनि बिहीबार अपरान्ह बालुवाटारबाट पक्राउ गरिसकेको छ। ललितपुर प्रहरी परिसरका प्रमुए एसएसपी सिद्धिविक्रिम शाहका अनुसार दुवै सञ्चालकविरुद्ध असार १३ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिइसकिएको छ।
पक्राउ परेका दुवैजनालाई शुक्रबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइँदैछ। उनीहरुलाई बालबालिकासम्बन्धी कानुन अनुसार कारबाही अघि बढाइने छ। पक्राउ पूर्जी लिएलगतै लाजिम्पाटस्थित उनीहरुको निवासमासमेत प्रहरीले खानतलासी गरेको थियो। तर फेला परेका थिएनन्। उक्त क्लबबाट १६ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका हुन्। नाइट क्लबमा नाबालिग प्रवेश गर्न मिल्दैन। तर ती नाबालिगलाई क्लबमा प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्न अनुमति लिएको थियो।
जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप छ। घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन्। कोइरालालाई यसअघि नै पक्राउ गरेर अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताएका छन्।