क्लबमा कुटपिट गर्नेलाई प्रहरीले हत्कडीसहित ठमेल डुलायो
३ साउन काठमाडौं ।काठमाडौको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ ।
ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काँउदा प्रहरीले हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाएको हो ।काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले चाहिँ प्रहरीको गाडी बिग्रिएकाले हिँडाएर लगिएको दाबी गरे । उनले भने, ‘प्रहरीको गाडी पुरानो छ, बाटोमा बिग्रिएकाले हुनसक्छ ।’
तर, प्रहरी वृत्त, लैनचौरका एक अधिकृतले ‘माथिको आदेश’ अनुसार नै हत्कडी लगाएर सडकमा हिँडाएको बताए । एसएसपी कार्कीले केहीअघि बैंकिङ कसूरका एक आरोपीलाई पनि हिँडाएर टेकुस्थित प्रहरी हिरासतसम्म लगेका थिए । कपिलवस्तुमा एसपी छँदा उनले ठगी आरोपका ईश्वरीप्रसाद पोखरेल भनिने गोपाल कामीलाई हत्कडीसहित बजारमा डुलाएका थिए ।
प्रहरीले सानुभाइसँगै टोखाका बिक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङलाई पक्राउ गरेको थियो । सानुभाइसँगै बिक्रम र कमललाई पनि प्रहरीले हत्कडी लगाएर हिँडाएको प्रहरी स्रोतले बतायो ।