ससुरालीमा अनुदानको मल लुकाउने सहकारीका अध्यक्ष पक्राउ


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ६ २०८०
4.4K
SHARES

६ साउन रुपन्देही । अनुदानको मल ससुरालीमा लुकाउने सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।एक साताअघि कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ स्थित ओम सहकारी संस्थाका अध्यक्ष भागिरथी यादवले कृषि सामग्री कम्पनी लिमिटेडबाट साढे २९ क्वीन्टल डिएपी र १४ क्वीन्टल युरिया खरिद गरेर लगे ।

किनेको मल उनले सोही गाउँपालिका वडा नम्बर ६ स्थित आफ्नै ससुरा बनारसी यादवको घरका पुर्‍याएका थिए । ससुरालीको घरमा लगेको मल उनले बढी पैसा लिएर केही बोरा डिलर र अन्य मानिसहरूलाई बिक्री गरे ।

कृषकहरूले यो कुरा थाहा पाएपछि हल्ला चल्यो । सामाजिक सञ्जालमा समेत यो कुरा बाहिर आयो । अध्यक्ष यादवको उक्त क्रियाकलाप सार्वजनिक भएपछि प्रहरीले छापा हानेर ५४ बोरा रासायनिक मल बरामद ग¥यो । प्रहरीले छापा मार्नुअघि उनले ३२ बोरा मल बेचिसकेका थिए ।

प्रहरीले सहकारीका अध्यक्ष भागिरथीलाई बिक्री गर्न बाँकी मलसहित पक्राउ गरेर अपचलनको मुद्दा अगाडि बढाएको छ । प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार भागिरथी अहिले जिल्ला प्रहरी कार्यालयमा थुनामा छन् भने बरामद मल वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।