अदालतको फैसलापछि रुगंटा ढले….


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १९ २०८०
2.9K
SHARES

१९ साउन चितवन । चितवनका पोल्ट्री व्यावसायी शंकर कँडेल आत्महत्या दुरुत्साहनको मुद्दा लागेपछि भारत भागेका व्यापारी प्रदीप रुंगटालाई पुर्पक्षका लागि थुनामा पठाउने चितवन अदालतले फैसला गरेको छ ।

रुङ्गटा बिहीबार चितवन जिल्ला अदालतमा हाजिर हुन आएका थिए । अनमोल फिड्सका सञ्चालक रहेका कँडेलले गत बैशाख १९ गते कार्यालयमा नै आत्महत्या गरेपछि उनले लेखेको सुसाइड नोटमा कम्पनीका मुख्य सञ्चालक रुङ्गटाले तनाव दिएको उल्लेख थियो । आत्महत्या दुरुत्साहन मुद्धामा कार्बाहीको दबाब पछि रुगंटा भागेर दिल्ली पुगेर लुकेर बसेका थिए । सोही आधारमा परिवारले रुङ्गटा र कम्पनीका चार्टर्ड एकाउन्टेन्ट जीवन रावल विरुद्ध किटानी जाहेरी दिए । रावल २२ बैशाखमा बारा सिमराबाट पक्राउ परे । जेठ १९ गते जिल्ला अदालत चितवनले रावललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

फरार भएको तीन महिनापछि जिल्ला अदालत चितवनमा उपस्थित भएका रुङ्गटा धरौटीमा छुट्नेमा निश्चिन्त थिए । उनी निश्चिन्त हुनका पछाडि उनले कँडेल परिवारसँग गरेको समझदारी थियो । पीडित परिवारसँग सहमति गरेकाले अदालतबाट धरौटीमा छुट्ने आशामा अदालत आएका थिए उनी । जब न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश ग¥यो, तब रुङ्गटाबेहोस भएर ढले । उनलाई भरतपुर अस्पतालमा राखेर उपचार गरिएको छ । उनलाई अहिले पनि अस्पतालमै राखिएको छ ।

बयानका क्रममा केही लचिलो हुने र रुङ्गटालाई धरौटीमा छुटाउनका लागि पीडित पक्षका तर्फबाट आवश्यक सहजीकरण गर्ने समझदारी थियो । पीडित पक्ष र रुङ्गटा पक्षको बीचमा एक महिना अगाडि भएको सहमति अनुसार नै उच्च अदालतबाट आत्महत्या दुरूत्साहनको मुद्दा लागेका जीवन रावल धरौटीमा छुटिसकेका छन् ।

एक शेयर सदस्यले दिएको जानकारी अनुसार दुबैपक्ष बीच भएको सहमति अनुसार कँडेलको नाममा रहेको १५ प्रतिशत सबै शेयर रुङ्गटाले किन्ने, क्षतिपूर्ती रकम दिने, भुक्तानी दिन बाँकी पार्टीहरुको रकम दिने, चेक साट्न बाँकी रहेका चेकहरुको म्याद थप गर्ने बाउन्समा नहाल्ने, कँडेलको नामा माछापुच्छ«े बैंकमा रहेको व्यक्तिगत जमानी सकार्ने लगायतका विषयमा प्याकेजमा सहमति भएको थियो ।पीडित परिवारले पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना माग दाबीसहित मुद्दा दर्ता गरेको थियो ।