माधवजी निर्दोष साबित, उहाँ र मेरो टेन्सन सधैंलाई साफ भो – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १५ २०८०
1.9K
SHARES

१५ भदौ पोखरा  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा माधव नेपाल अब औपचारिक रुपमा निर्दोष साबित भएको दाबी गरेका छन् ।पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिआइबीको अनुसन्धानपछि अब पहिलोपटक माधव नेपाल औपचारिक रुपमा निर्दोष साबित भएको फैसला सुनाए ।

प्रचण्डले माधव नेपाललाई मात्र नभएर आफूलाई समेत यो टेन्सनको विषय रहेको भन्दै अब त्यो समाधान भएको बताए । उनले केपी ओली प्रधानमन्त्री भएका बेला आफू र माधव एउटै मोर्चामा रहेको भन्दै त्यसबेला कतै षड्यन्त्र हुने हो कि भन्ने डर लागेको समेत सुनाए ।

ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्नु भनेर सर्बोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको र सिआईबीको अनुसन्धानका आधारमा सरकारी वकिलले मुद्दा अघि बढाएका बेला प्रधानमन्त्रीले दोषी र निर्दोष आफैंले टुंगो लगाइदिएका छन् ।

पोखराको सभामा प्रधानमन्त्रीले ललिता निवासका दोषी जति मुद्दामा गएको भन्दै अदालतको फैसलाअघि नै आफ्नो राय दिएका हुन् ।

माधव नेपालबारे के भने प्रधानमन्त्रीले ?

माधवजी पनि यहाँ हुनुहुन्छ । उहाँको बारेमा पनि धेरै प्रश्नहरु के हो कसो हो भनेर बोलिनै राखिएको छ । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ । तपाईंहरु विचार गर्नुहोला औपचारिक रुपमा रुपले साबित भयो । अब प्रश्न गर्ने ठाउँ रहेन । किनभने सिआईबीले उहाँको पनि के हो कुरा भनेर बयान त लियो । बयान लिएर निर्दोष साब्ति गरेर बयान लिनु नपर्ने लिखित रुपमै दिएपछि सधैंको टेन्सन । माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो त्यो टेन्सन मलाई पनि । त्यो टेन्सन केपी ओली प्रधानमन्त्री हुँदा पनि मलाई थियो । हामी त एउटै मोर्चामा थियौं । कहीँ न कहीँ षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो । अब त्यो स्थिति रहेन दोषी गइरहेका छन् निर्दोष निर्दोष साबित भएका छन् । म तपाईंहरुले के विश्वास दिलाउँछु भने यो अभियान रोकिँदैन ।

मैले प्रधानमन्त्री हुँदा सुरुमा यो १५ दिने हुने हो कि एक महिने भन्ने लागेको थियो । गर्दै जाँदा आठ महिना हुन लाग्यो, गर्दै जाँदा वर्ष बित्छ जस्तो पनि देख्छु मैले । यो गठबन्धन त पाँचै वर्ष जान्छ । प्रधानमन्त्री हेरफेर भएपनि यो एउटा महाअभियान चल्ने देखेको छु । तपाईंहरु ढुक्कसँग अघि बढ्नुस् । सरकार दृढताको साथ यो लडाईंलाई निष्कर्षमा पुर्याउँछ ।