एमाले लुम्बिनी : नेतृत्व छान्न मतदान


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १९ २०८०
1.6K
SHARES

१९ भदौ काठमाडाै‌ं । रुपन्देहीको बुटवलमा तीन दिनदेखि जारी नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अहिले मतदान चलिरहेको छ। अध्यक्षसहितका पदाधिकारी पदमा सहमति हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व छान्न लागिएको हो।

मंगलबार बिहान साढे ९ बजेदेखि मतदान भइरहेको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले बताए। एमाले लुम्बिनीको अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालबीच प्रतिस्पर्धा छ।

प्रथम अधिवेशनमै एमाले लुम्बिनीमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल समूहको गुटबन्दी तलैसम्म देखिएको छ।दुई नेताले अधिवेशन उद्घाटका क्रममा कुनै गुटबन्दी नगरेको दाबी गरे पनि लुम्बिनीमा जिल्लासम्मै दुईवटा समूह बन्न पुगेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सभा र बन्द सत्रमा समेत सर्वसम्मत नेतृत्व छान्न दबाब दिए पनि दुई पक्ष तयार भएनन्। एमालेको भावी अध्यक्षका रुपमा चित्रित पोखरेल र पौडेल दुवैजना आफ्नो पक्षका नेताहरुलाई ब्याक गराउन तयार नभएपछि चुनावी प्रतिस्पर्धा भएको हो।

पौडेल प्यानलबाट कँडेल समूह र पोखरेल प्यानलबाट रिजाल समूह चुनावी मैदानमा छ। बाहिर गुट नगर्ने भने पनि यी दुई नेताबीच नेतृत्वका लागि कडा टक्कर देखिएको छ।  नयाँ नेतृत्वका लागि पाँच पदाधिकारी पदमा १४ जनाले उम्मेदवारी दिएका छन्। सचिव पदमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।