अब भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छ – महामन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र ३० २०८०
6.6K
SHARES

३० भदौ झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइल मात्र होइन, ‘फायर’ नै खोल्नुपर्ने बताएका छन् । शनिबार झापा क्षेत्र न–१ को क्षेत्रीय सम्मेलनमा उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताए । “कांग्रेसले कसैलाई निलम्बन गर्‍यो वा गरेन त्यो ठूलो कुरा होइन, यस्तो हल्ला गर्नुको अर्थ पनि छैन,” उनले भने, “भ्रष्टाचारको फाइल मात्र होइन, फायर खोलिनुपर्छ ।”

कांग्रेसले भ्रष्टाचारमुक्त समाज बनाउन चाहने उल्लेख गर्दै उनले पार्टी चलाउने शैलीमा नवीनताको आवश्यकता औँल्याए । उनले पार्टीमा भइरहेका गल्ती–कमजोरीको सबै दोष आफूहरूले नलिने बताए ।

महामन्त्री शर्माले संसद्‌मा दर्ता गरिएको विद्यालय शिक्षा विधेयक अस्वीकार्य भएको बताए । “पहिलाको प्रस्तावित विधेयक त्रुटिपूर्ण रहेकाले सच्याएर ल्याउने सल्लाह भएको हो, फेरि पनि असंगत विधेयक नै ल्याइयो,” उनले भने, “म पनि शिक्षकको छोरा हुँ, समस्या बुझेको छु । प्रधानमन्त्रीलाई भन्छु, यो ऐन अस्वीकार्य छ ।”

कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्राकृतिक रूपमै पुरानो पुस्ता हट्ने र नयाँ पुस्ता राजनीतिमा उदाउने बताउँदै निराश नहुन युवा पुस्तालाई आग्रह गरे । उनले नयाँ बनेका पार्टीबाट लोकतन्त्रका लागि बलिदानी संघर्ष गरेर स्थापित भएका राजनीतिक दलहरूलाई असर नपर्ने बताए ।