माओवादी पदाधिकारी बैठक बस्दै, यी हुन् एजेन्डा
३ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठकमा माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुनेछ “बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ,” ढकालले भने ।
माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ । केन्द्रीय समिति बैठकले पार्टीको विधान सम्मेलनको मिति तय गर्नेछ ।माओवादीले मंसिरमा अभियान सक्ने र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो । तर, पुस १६ गतेसम्म नै अभियान चलाउने निर्णयपछि सम्मेलनको मिति तय भइसकेको छैन । फागुनभित्रै सम्मेलन गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।