१६ औँ योजना तर्जुमा गर्दा भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर गर्नुपर्छ – नेता पौडेल
२२ पुस काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर १६ औँ योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर १६ औँ योजना तर्जुमा नभए योजना निर्माणको काम पुरानै रूपमा चल्ने बताएका हुन् ।
उनले मुलुकको वर्तमान अवस्था र आवश्यकताअनुरूप १६ औँ योजना तर्जुमा नभए अपेक्षा गरे अनुसारको नतिजा आउन नसक्ने उल्लेख गरे । पूर्वअर्थमन्त्री पौडेलले योजना निर्माण गर्दा स्रोत व्यवस्थापन महत्त्वपूर्ण पक्ष भएको भन्दै स्रोत भन्दा बाहिरको योजनाको अर्थ नहुने बताए ।
उनले नेपालमा सीमित स्रोत र असीमित आवश्यकता भएकाले सोही आवश्यकताका आधारमा धेरै प्रतिफल पाउने गरी योजना बनाउनुपर्नेमा जोड दिए । उनले स्रोत व्यवस्थापन र आयोजना व्यवस्थापनबिचमा रहेको खाडललाई पूरा गर्ने गरी योजना निर्माण गरिनुपर्ने बताए ।