प्रधानमन्त्री सचिवालयको आकार घटाइँदै
२६ पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी र स्वकीय सचिवालयको आकार घटाउने गृहकार्य तीव्र भएको छ ।प्रधानमन्त्रीले आफ्नो कार्याकाल एक वर्ष पुगेको सन्दर्भमा १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सचिवालयको संरचना बदल्ने बताएका थिए प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार अहिलेसम्म निजी सचिवालयमा विभिन्न मन्त्रालयबाट काजमा गएका आधा कर्मचारी फिर्ता भइसकेका छन् ।
‘सचिवालयलाई नीतिगत रूपमा पुनरसंरचना गर्ने निर्णय मन्त्रिपरिषदबाट नै भएको छ’, उनले भने, ‘अहिलेसम्म निजी सचिवालयमा विभिन्न मन्त्रालयबाट काजमा आएका सरकारी २० जनामध्ये १० जना कर्मचारी फिर्ता गइसक्नुभएको छ ।’आचार्यका अनुसार स्वकीय सचिवालयमा रहेका अति आवश्यक बाहेकका कर्मचारीलाई पनि माघ १ गतेदेखि बिदाइ हुने गृहकार्य गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।