राष्ट्रियसभा निर्वाचन : उमेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २९ २०८०
1.5K
SHARES

२९ पुस काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उमेदवारले गर्न पाउने खर्चको हद तोकेको छ ।  आगामी माघ ११ गते हुने निर्वाचनका लागि उमेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ अनुसार खर्च गर्न पाउने छन् । उमेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  उमेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न सकिने छ । यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उनैको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।

त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्न आयोगले अनुरोध गरेको छ ।