टीआरसी सहमतिमै टुंगो लाग्छ – प्रधानमन्त्री
७ माघ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुंगो लगाउनका लागि अब संसद्को अधिवेशन आह्वान हुनासाथ विधेयक अघि बढाउने बताएका छन् ।युगान्डाको भ्रमण सकेर आइतबार बिहान फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, “टीआरसीबारे सबै तयारी गरेका छौं । संसद्को उपसमितिबाट समितिमा विधेयक गएको छ । सदन खुल्नेबित्तिकै प्राथमिकताकासाथ राखेर टुंगो लगाइन्छ । अन्तिममा सहमतिबाटै टुंगो लाग्छ । त्यसपछि शान्ति प्रक्रियाका बाँकी कामले गति लिन्छ ।”
उनले आफूले एक वर्षको अवसरमा गरेको सम्बोधनपछि गति लिएको पनि आफूलाई महसुस भएको बताएका छन् ।उनले आफूले टार्जेट दिएर मन्त्रीहरुलाई काममा लगाएको उल्लेख गर्दै पूरा नगरे राम्रो हुँदैन भनिसकेको र परिवर्तन पनि हुने बताए ।अर्को एक प्रसंगमा उनले नेपालका कर्मचारी क्षमता र अनुभवको हिसाबले दुनियामा कम नभएको भए पनि तत्तपरता लिने आँट भने नभएको बताए ।
“तत्परता लिने आँट कहीँ न कहीँ कमी देखिएकै छ । त्यसको धेरै कारण छ,” उनले भने, “मुख्य सचिव पनि यहीँ हुनुहुन्छ । कर्मचारीतन्त्रले आँट गर्ने हो भने दुनियाको भन्दा कम छैन ।”