गठबन्धन गर्नु रहर नभई बाध्यता हो – सभापति देउवा
१० माघ काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन् कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताएका हुन् ।
संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिंदैन,’ उनले भने, ‘बहुमत पुर्याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ ।’
कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको स्मरण गर्दै उनले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए । ‘पार्टीको इतिहासलाई सम्झेर अझै बलियो बनाउने गरी अगाडि बढ्नुहोस् । कांग्रेसले बहुमत ल्याउने गरी लाग्नुहोस्,’– सभापति देउवाले भने ।
नेपालमा बहुदलीय व्यवस्था आएपछि मात्रै विकासमा परिवर्तन देखिन थालेका उनको भनाइ थियो । जनताले चाहे जस्तो नभएपनि देशमा परिवर्तन भएको सभापति देउवाले बताए ।