टीआरसी विधेयक अघि बढाउने सहमति


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २० २०८०
2.4K
SHARES

२० फागुन काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउने सहमति भएको छ । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छुट्टाछुट्टै गरेको छलफलमा सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

“कानुन समितिमा केही विषयमा उच्च तहका नेतासँग बस्ने र टुंग्याउने कुरा भएको थियो । यसमा पीडितमैत्री बनाउने र एमालेले उठाएको विषय समेटेर भाषा मिलाएर अघि बढाऔँ भन्ने सहमति भएको हो,” आचार्यले  भने, “सम्बोधन गनुपर्ने विषय समेटर अघि बढाउने सहमति भएको हो ।” प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि नेताहरूबीच छलफल भएको हो । आचार्यका अनुसार, यस विषयमा शनिबार प्र्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछिानेसँग पनि छलफल गरेका थिए ।